
गृहमन्त्री रमेश लेखकले सीमित स्रोत र साधनकाबीच परिणाममुखी काम गर्न मुलुकभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् ।
गृह मन्त्रालयले आज आयोजना गरेको जिल्ला सुरक्षा समितिसँगको भर्चुअल बैठकमा गृहमन्त्री लेखकले लागु औषध नियन्त्रण, आत्महत्या न्यूनीकरण तथा सवारी दुर्घटना न्यूनीकरण चुनौतीका रुपमा रहेको उल्लेख गर्दै सीमित स्रोत साधनकाबीच गम्भीर भएर काम गर्न निर्देशन दिएका हुन्।
“अहिले चुनौतीका रुपमा देखापरेका तीनवटै विषय एकअर्कासँग सम्बन्धित छन्”, उनले भने, “त्यसको न्यूनीकरणका लागि प्रदेश र स्थानीय तहसित पनि समन्वय गरेर लाग्नुहोस् ।”
सीमामा हुने अपराध, चोरीसिकारी नियन्त्रण, भ्रष्टाचार न्यूनीकरण र आर्थिक अनियमिततामा शून्य सहनशिलताको नीति अपनाउन उनले आग्रह समेत गरे।
मन्त्रालयले कानुनी, नीतिगत र संरचनात्मक सुधारका कामहरू अगाडि बढाएको उल्लेख गर्दै मन्त्री लेखकले सोही अनुसार कामको गुणस्तर बढाएर जानुपर्नेमा जोड दिए ।
“हामीसँग शान्ति सुरक्षाको गम्भीर जिम्मेवारी छ”, उहाँले भन्नुभयो, “विकास, समृद्धि र लोकतन्त्रको दीर्घ जीवनका लागि शान्तिसुरक्षा हुनैपर्छ ।”
गृहसचिव गोकर्णमणि दुवाडीले नतिजा देखिनेगरी काम गर्न निर्देशन दिए । उनले विपद् व्यवस्थापनका लागि पूर्वतयारी प्रभावकारी बनाउन पनि निर्देशन दिएका छन् ।
भर्चुअल बैठकमा देशभरका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीको सहभागिता थियो ।