कञ्चनपुर, पुस २१ :

देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपक्षी गणना गरिने भएको छ । 

हरेक वर्षको जनवरी महिनाको पहिलो शनिबारदेखि जलपंछी गणना कार्य गरिँदै आएको छ । 

जनवरी ४ तारिखदेखि १९ सम्म (पुस २० गतेदेखि माघ ६ गतेसम्म) जलपंछीको सङ्ख्या, प्रजाति, बासस्थानको अवस्थाबारे जानकारी लिन गणना हुन लागेको नेपाल पंछीविद् सङ्घका वरिष्ठ चराविद् तथा वेटल्याण्ड्स इन्टरनेसनल नेपालका लागि जलपक्षी गणना संयोजक लक्ष्मणप्रसाद पौड्यालले जानकारी दिए ।

उनका अनुसार यस अवधिमा पानीमा आश्रित तथा पानीवरिपरि बस्ने आवासीय र बसाइँसराइ गर्ने चराको तथ्याङ्क सङकलन कार्य हुनेछ । 

गत वर्ष कोसीटप्पु वन्यजन्तु आरक्ष, चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा, रारा राष्ट्रिय निकुञ्ज, काठमाडौँ, पोखरा, लुम्बिनी, बिसहजारी ताल, घोडाघोडी, जगदीशपुरलगायता तालसँगै देशका विभिन्न ताल तलैया र सिमसार क्षेत्रमा जलपक्षी गणना गरिएको थियो । 

गोक्यो, गोसाइँकुण्ड, माईपोखरी, फोक्सुन्डो तालजस्ता हिमाली क्षेत्रका तालमा भने अझै नियमित गणनाकार्य हुन सकेको छैन, यी ताल र अन्य संभावित सिमसार क्षेत्रमा चरा अवलोकनमा जानेको विवरण माग गरेको उनले बताए ।

विगतका वर्षझै यस वर्ष पनि तराई, भित्रि मधेश, रारा ताल, काठमाण्डौँ उपत्यका र पोखरा उपत्यका सबै प्रमुख सिमसार क्षेत्रमा जलपंछी गणनाकार्य गरिने छ ।

भारतीय महादिपमा एसियाली जलपक्षी गणना सन् १९८७ देखि वेटल्याण्ड्स इन्टरनेशनलले शुरु गरेको हो । यो कार्य सुरुमा एसियाको अफगानिस्तान, जापान, दक्षिण एसिया र अष्ट्रेलियामा गरिएको थियो ।   

सन् १९८७ देखिनै नेपालमा पनि एसियाली जलपक्षी गणना नियमित हुँदै आएको छ । नेपालमा पहिलो गणना एक रामसार साइट र अन्य केही सिमसार क्षेत्रमा गरिएको थियो । त्यसपछि गणना निरन्तर भइरहेको छ ।