
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक काठमाडौंमा सुरु भएको छ ।
बैठकको पहिलो दिन आज सहकारीसम्बन्धी अध्यादेश, २०८१ र संसद्मा दर्ता भएका विधेयकमाथि छलफल गर्दै पार्टीको धारणा प्रस्तुत गर्ने कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।
बैठकमा रास्वपाका केन्द्रीय सदस्यहरूबीच पार्टीको संगठन संरचना, समीक्षा, रणनीति, सबलीकरण र जागरणलगायत विषयमा छलफल हुँदै छ । आजै स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ गर्ने कार्यक्रम तय भएको छ ।
पार्टीका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटी तयार गरेका तालिकाअनुसार बैठकले प्रस्तावनाको व्याख्या एवं सर्वाङ्गीण विकासको भावी रोडम्यापबारे छलफल गर्दै छ ।
रास्वपाको जलेश्वर बैठक र राष्ट्रिय भेलामा प्रस्तुत पार्टी सभापतिको राजनीतिक प्रतिवेदनका आधारमा पार्टीको आगामी कार्यदिशासँगै कार्यक्रम तालिकाबारे बैठकमा छलफल हुनेछ ।
कार्यवाहक महामन्त्री बुर्लाकोटीका अनुसार आइतबारको बैठकले केन्द्रीय समिति, सल्लाहकार परिषद्, थिंक ट्यांक एवं केन्द्रीय विभागको पुनःसंरचना, पार्टीको आचारसंहिता र बैठक सञ्चालन कार्यविधि संशोधनका विषयमा गर्नेछ ।
रास्वपाको केन्द्रीय समितिमा सभापति रवि लामिछानेसहित जम्मा ६१ जना सदस्य छन् । सभापति लामिछानेलाई सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लागेपछि पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारीमा डोलप्रसाद अर्याल छन् ।