
आज विश्वभर ब्रेल दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१९ देखि मनाउन प्रारम्भ भएको विश्व ब्रेल दिवसको उद्देश्य दृष्टिविहीन र आंशिक दृष्टिविहीन व्यक्तिहरूलाई मानव अधिकारको पूर्ण अनुभूतिमा सञ्चारको माध्यमको रूपमा ब्रेलको महत्त्वबारे चेतना जगाउनु हो ।
विश्व ब्रेल दिवस अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धिको धारा २ मा प्रतिबिम्बित भए अनुसार शिक्षा,अभिव्यक्ति र विचारको स्वतन्त्रताका साथै सामाजिक समावेशीकरणको सन्दर्भमा ब्रेल आवश्यक छ ।
राष्ट्रसङ्घका अनुसार विश्वभर एक अर्बभन्दा बढी मानिस दृष्टिसम्बन्धी समस्याबाट पीडित छन् ।
दृष्टि समस्याका कारण उनीहरू स्वास्थ्य सेवा,शिक्षा,रोजगारी र समुदायमा सहभागी हुने अवसरबाट वञ्चित हुने सम्भावना अधिक हुन्छ । उनीहरू गरिबी,हिंसा,बेवास्ता र दुर्व्यवहारको जोखिममा समेत रहेका छन् ।