काठमाण्डौँ , पुस २२ :

शिख धर्मावलम्बीले आज गुरु गोविन्द सिंहको जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछन् ।

गुरु गोविन्द सिंह शिख धर्मावलम्बीहरूका दशौँ गुरुका रूपमा परिचित छन्।
 
प्रत्येक वर्ष जनवरी ५ तारिखका दिन गुरु गोविन्द सिंहको जन्मजयन्ती मनाइन्छ । भारतको पटनामा सन् १६६६ मा जन्मेका गोविन्द सिंह सन् १६७५ नोभेम्बर ११ तारिखका दिन आफ्ना बुबा तेघबहादुरको निधनपछि शिखहरूको दशौँ गुरु बनेका थिए ।

गुरु गोविन्दले आफ्नो जीवनभर सबैलाई प्रेम, एकता र भ्रातृत्वको सन्देश दिएका थिए। उनी निकै शान्त स्वभावको व्यक्तित्व थिए। आफ्नो अहित सोच्ने दुश्मनहरूसँग पनि गुरुले सहनशीलता, मधुरता र सौम्यताका साथ सामना गर्दथे। 
  
नेपालमा रहेका शिखहरूले पनि यस दिन उत्सवका साथ गुरु गोविन्द सिंह जयन्ती मनाउने गर्छन् । गुरु गोविन्द सिंह जयन्तीमा काठमाण्डौँको पशुपति, ज्ञानेश्वर, बालाजु, थापाथली र कुपण्डोललगायत स्थानमा रहेको गुरुद्वारामा विशेष पूजापाठ एवं भण्डाराको कार्यक्रम रहेको छ ।