खोटाङ, पुस २३ :

माया घर नेपाल नामक संस्थाले कोठामा थुनिएर बस्न बाध्य ९ वर्षीय बालकसहित सहाराविहीन चार बालबालिकाको उद्धार गरेको छ । 

छ वर्षदेखि आफ्नै घरको कोठामा थुनेर राखिएको ऐँसेलुखर्क गाउँपालिका-१ राखाबाङ्देलका नौ वर्षीय बालक अङ्गबहादुर थापा र सहारा विहीन नौ वर्षीया सुजता राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका- १४ बुइपाका ११ वर्षीय विश्वहाङ राई र १२ वर्षीय रुविन राईलाई उक्त संस्थाले आइतबार उद्धार गरेको हो । 

जिल्ला प्रहरी कार्यालय खोटाङ र सम्बन्धित वडा कार्यालयको समन्वयमा ती बालबालिकाको पालनपोषण, शिक्षादीक्षा तथा स्वास्थ्य उपचार गर्नेगरी उद्धार गरिएको माया घर नेपाल इटहरीका जिल्ला प्रतिनिधि प्रमेश ढकालले जानकारी दिए ।

उद्धार गरिएका चारैजनालाई एम्बुलेन्समार्फत इटहरी पठाइएको छ । जिल्लाका सहाराविहीन बालबालिकालाई खोजी गरी उद्धार गर्ने अभियानमा जुटेको उनले बताए ।

बुबाआमाले घरको कोठामा थुनेर राखेको ठाउँबाट उद्धार गरिएका बालक अङ्गबहादुर बोल्न र हिँड्नसमेत नसक्ने अवस्थामा रहेको जनाइएको छ । बुबाआमा भए पनि कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न नसकी कोठामा थुनेर राख्ने गरिएको उद्धारमा सहभागीले बताएका छन् । 

उद्धार गरिएकी राखाबाङ्देलकै सुजताको बुबा नभएको तथा आमाले अर्कै विवाह गरेको पाइएको छ । सहारा विहीन दुई बालबालिकाको पालनपोषण तथा शिक्षादीक्षाका लागि व्यवस्था गर्न नसकेपछि माया घर नेपाललाई जिम्मा दिइएको वडाअध्यक्ष पुरुषोत्तम राजभण्डारीले जानकारी दिए । 

त्यसैगरी उद्धार गरिएका बुइपाका विश्वहाङको बुबा पाँच वर्षदेखि बेपत्ता तथा आमाले अर्कैसँग विवाह गरेको पाइएको छ । बुबाआमा दुवैको सहारा नपाएका विश्वहाङलाई छिमेकीको घरमा बसिरहेको अवस्थाबाट उद्धार गरिएको वडाध्यक्ष दिनेश राईले जानकारी दिए । 

बुइपाकै रुविनको बुबा अपाङ्ग र आमा समेत अशक्त रहेकाले पालनपोषण, शिक्षादीक्षा तथा स्वास्थ्य उपचारमा समस्या भएकाले उद्धार गरिएको जनाइएको छ । 

जिल्लाबाट यसअघि मात्र चारजना सडक आश्रित मानव तथा दुईजना सहारा विहीन बालबालिकाको उद्धार गरिएको थियो । जिल्लाका विभिन्न ठाउँबाट प्रहरीले उद्धार गरेका उनीहरूलाई मानव सेवा आश्रम विराटनगर पठाइएको छ ।