
विभिन्न जलविद्युत् आयोजनामा लगानी जुट्ने क्रम सुरु भएको छ । पछिल्लो एक सातामा दुई महत्वपूर्ण जलविद्युत् आयोजनका लागि लगानी जुटेको छ ।
केही दिन पहिले लालुपाते हाइड्रोपावर कम्पनीद्वारा प्रवर्द्धित ४९ दशमलव ९५ मेगावाट क्षमताको दानाखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको थियो ।
दानाखोलामा विभिन्न बैङ्क तथा वित्तीय संस्थाद्वारा नौ अर्ब ९६ करोड लगानी सुनिश्चित भइसकेको छ । ७४ करोड स्थानीयमा शेयर जारी गरेर एक अर्ब ७४ करोड सञ्चालकले लगानी गर्ने भएका छन् ।
यससँगै पुनः अर्को जलविद्युत् आयोजनामा पनि लगानी जुटेको छ । लमजुङमा आयोजना स्थल रहेको एक सय दुई मेगावाट क्षमताको अप्पर मर्स्याङ्दी एक जलविद्युत् आयोजनामा पनि लगानी जुटेको हो ।
अप्पर मर्स्याङदी हाइड्रोपावर कम्पनी प्रवर्द्धक रहेको सो आयोजनामा विभिन्न बैङ्कले रु १६ अर्ब बराबरको लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
प्रवर्द्धक कम्पनीले उपलब्ध गराएको विवरणअनुसार लक्ष्मी सनराइज बैङ्कले सात अर्ब, ग्लोबल आइएमइ बैङ्कले छ अर्ब र प्रभु बैङ्कले तीन अर्ब बराबरको लगानी गर्ने भएका हुन् ।
सो आयोजनाको कूल लागत २१ अर्ब ४० करोड बराबर रहनेछ । कूल लागतमध्ये ७४ दशमलव ७७ प्रतिशत बैङ्कले र २५ दशमलव २३ प्रतिशत भने प्रवर्द्धकले लगानी गर्ने छन् ।
आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता, विद्युत् उत्पादन अनुमतिपत्र समेत प्राप्त भइसकेको छ । आगामी चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट वार्षिक पाँच सय ८३ दशमलव शून्य तीन गिगावाट घण्टा ऊर्जा उत्पादन गर्ने छ ।