मकवानपुर र काठमाडौँ जोड्ने महालक्ष्मी खोला- मातातीर्थ सडक आजदेखि आगामी माघ ७ गतेसम्म बन्द हुने भएको छ ।
उक्त सडक अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका- ५ स्थित महालक्ष्मी खोला नजिकै भीर कटानका लागि सडकमा यातायात सेवा बन्द गर्न लागिएको गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिएका छन् ।
पूर्वाधार विकास कार्यालयले मकवानपुर तर्फको सडक खण्डमा स्तरोन्नतिका क्रममा उक्त सडकमा यातायात सञ्चालन बन्द गर्न लागिएको उनले बताए। उक्त सडक आगामी माघ ७ गतेसम्म बन्द रहने छ ।
यस्तै, मकवानपुर- काठमाडौँ जोड्ने कुलेखानी- फाखेल सडकखण्ड र कुलेखानी- सिस्नेरी- दक्षिणकाली सडकखण्डमा एकतर्फी मात्रै सवारी साधान सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
उनका अनुसार हेटौँडाबाट काठमाडौँ आउने सवारी सिस्नेरीतर्फबाट र काटमाडौँबाट हेटौँडा जाने सवारी सधान फाखेलबाट सञ्चालन भइरहेको छ । दुबै सडकखण्डमा हाल स्तरोन्नति भइरहेको छ ।