
वैदेशिक रोजगारीको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाही गोडैता नगरपालिका- १० का २८ वर्षीय राकेशकुमार रावत, काभ्रेपलाञ्चोक रोशी गाउँपालिका- ११ का ३३ वर्षीय दुधराज थिङ र दाङ तुल्सीपुर उपमहानगरपालिका- ५ का ३४ वर्षीया प्रभा श्रेष्ठ रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राकेशलाई काठमाडौँ महानगरपालिका- ९ बाट, दुधराजलाई ललितपुर महालक्ष्मी नगरपालिका- ९ बाट र प्रभालाई ललितपुर महानगरपालिका- १० बाट आइतबार पक्राउ गरिएको जनाएको छ ।
पक्राउ परेका मध्ये राकेशले मौरिसस पठाइदिन्छु भन्दै एक जना पीडितबाट छ लाख ४५ हजार, दुधराजले क्यानडा पठाइदिन्छु भन्दै एक जना पीडितबाट सात लाख ५० हजार र प्रभाले सिङ्गापुर पठाइदिन्छु भन्दै एक जना पीडितबाट सात लाख आठ हजार लिई सम्पर्क बिहीन भएको पीडितहरूको उजुरीको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरीले वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।