काठमाडौं, पुस २३ :

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव तथा एमाले मोरङ जिल्ला कमिटी सदस्य अनिलकुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पोखरेललाई पक्राउ गर्न मोरङ जिल्ला अदालतले सोमबार मोरङ प्रहरीलाई अनुमति दिएको हो ।

पोखरेलविरुद्धको आरोपबारे जिल्ला प्रहरी कार्यालय मोरङले ठगी तथा आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान सुरु गरेको छ । पोखरेलले एमबीबीएसको प्रवेश परीक्षामा उत्तीर्ण गराइदिने भनी ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको सार्वजनिक भएको छ । रकम असुलेको घटना सार्वजनिक भएपछि सभापति पोखरेलले अनिललाई स्वकीय सचिवबाट हटाएका थिए ।

एमबीबीएसको प्रवेश परीक्षामा छोरीलाई उत्तीर्ण गराइदिने र होस्टलमा राख्ने वातावरण बनाइदिने आश्वासन दिएर अनिलले सप्तरीका बौआलाल चौधरीबाट २०७१ देखि ०७३ का बीचमा पटकपटक गरेर ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ ।