
विषाक्त वायुमण्डलका कारण काठमाडौं उपत्यकालगायत देशैभर वायु प्रदूषण बढेको छ । यति मात्र होइन आज (सोमबार) काठमाडौं उपत्यका त झन् विश्वकै पाँचौं प्रदूषित सरहमा दर्ज भयो । विषाक्त वायुमण्डलकै कारण सर्वसाधारणको जनजीवन प्रभावित बनेका छन् । अस्पतालमा धुवाँधुलोको संक्रमणबाट बिरामी भएकाहरुको चाप बढेको छ । स्वास्थ्यकर्मीहरुले पनि यस्तो समयमा अनावश्यक रुपमा घरबाहिन ननिस्कन अनुरोधसमेत गरेका छन् ।
वायुमण्डलमा बढेको प्रदूषणसँगै चिसो पनि बढेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआईका) अनुसार विश्वको प्रदूषित सहरको पहिलो नम्बरमा पाकिस्तानको लाहोर सहर परेको छ ।
दोस्रो स्थानमा रहेको भारतको कोलकाताको एक्यूआई २४८, तेस्रो स्थानमा मंगोलियाको उलानबाटरको एक्यूआई २३८ छ । चौथो स्थानमा रहेको प्रदूषित सहर भारतको नयाँदिल्लीको एक्यूआई २२७ एक्यूआई रहेको छ । काठमाडौं उपत्यका भने २०५ एक्यूआईसहित विश्वकै पाँचौं प्रदूषित सहरमा दर्ज भएको हो ।
मौसमविद् सरोज पुडासैनीले अहिले उपत्यकाको वायुमण्डल विषाक्त रहेको दाबी गर्छन् । ‘अहिलेको वायुमण्डलको अवस्था विषाक्त नै छ । पक्कै पनि लामो समयदेखि पानी नपर्दा वायुमण्डल विषाक्त देखिएको हो । काठमाडौंलगायत धेरै सहरहरुमा पीएम २.५ को मात्रा वायुमण्डलमा बढेका कारण अहिलेको अवस्था विषाक्त देखिएको हो,’ मौसमविद् पुडासैनीले सक्रिय खबरसँग भने, ‘मंगलबार देशैभर आंशिकदेखि साधारणत: बदली एवं देशैभर वर्षा र हिमपातको सम्भावना देखिन्छ । बुधबारको बिहानैदेखि भने मौसममा सुधार आउने देखिन्छ ।’
उनका अनुसार देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मंगलबार हल्का हिमपातको सम्भावनासमेत छ । ‘पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको पनि सम्भावना छ । तराईका क्षेत्रहरुका थोरै स्थानहरुमा वर्षाको सम्भावना देखिन्छ,’ उनले भने, ‘न्यूनचापीय प्रणालीका कारण मंगलबारदेखि हल्का छिटफुट वर्षा हुने सम्भावना देखिन्छ ।’
यस्तै विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीका अनुसार शून्यदेखि ५० सम्मको एक्यूआईलाई राम्रो मानेर हरियो संकेत दिइन्छ । साथै ५१ देखि एक सयसम्मको एक्यूआईले होसियार रहन संकेत गर्छ ।
एक सय एकदेखि १५० सम्मको एक्यूआई हुँदा श्वासप्रश्वासमा समस्या हुने र मुटु रोगीका लागि खतरा मानिन्छ । उप्रेतीका अनुसार १५१ देखि दुई सय सम्मको एक्यूआईलाई अस्वस्थ र त्यसभन्दा माथि वायु प्रदूषण भएमा अत्यधिक अस्वस्थ भएको मानिन्छ ।
काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्यूआईको मान तीन सयभन्दा बढी भएको अवस्थालाई विपद्का रुपमा लिने उल्लेख गरेको छ ।
यो विपद् रोक्ने कार्ययोजनामा फोहोर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीहरूलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्न कार्ययोजनामा उल्लेख गरिएको छ ।
यस्तै वातावरणविद् भुषण तुलाधार पनि गर्मीयामको तुलनामा चिसो मौसममा वायु प्रदूषणको सम्भावना बढी रहने बताउँछन् । ‘चिसो मौसममा हावा जमिनकै सतहमा लामो समयसम्म रहने भएकाले प्रदूषणको सम्भावना बढी हुन्छ, दिउँसो घाम लागेर तापक्रम बढ्दै जाँदा हावामा प्रदूषण फैलन्छ,’ उनले भने । त्यसबाहेक चिसोमा फोहोर, टायर तथा दाउरा जलाउने चलनले पनि प्रदूषण बढाउन सहयोग गर्ने उनको भनाइ छ ।
मौसमविद् पुडासैनी हिउँदयाममा परेको पानी नकारात्मकभन्दा पनि सकारात्मक अर्थात् कृषकहरुलाई फाइदा पुर्याउने बताउँछन् ।‘क्षति नै नपुर्याउने भन्ने छैन, विशेषगरी हवाई क्षेत्रमा आंशिक रुपमा मौसमको क्षति पुग्न सक्छ । यसको साथसाथै पश्चिमी वायुको प्रभावले गर्दा थोरै चिसो पनि बढ्नेछ । अधिकतम तापक्रममा केही गिरावट आउँदा चिसोले बालबालिका र ज्येष्ठ नागरिकहरुलाई असर पर्ने देखिन्छ,’ उनले भने । उनले माघको १ गतेबाटै जाडो विस्तारै कम हुने पनि जानकारी दिए ।
राष्ट्रिय वातावरण नीति, २०७६ अनुसार प्रदूषण न्यूनीकरणका लागि जल, वायु, माटो, ध्वनि, विद्युत्- चुम्बकीय तरंग, रेडियोधर्मी विकिरण, जोखिमपूर्ण रासायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गरिने सरकारी रणनीति छ ।
लगातारको हुस्सु र कुहिरोले तराईको जनजीवन प्रभावित, चिसोबाट जोगाउन चोक-चोकमा दाउरा वितरण
यस्तै लगातार दुई दिनदेखि हुस्सु र कुहिरो लागेसँगै तराईको जनजीवन प्रभावित भएको छ । निरन्तर हुस्सु लागेपछि तराई क्षेत्रका सर्वसाधारण चिसोबाट प्रभावित भएका हुन् ।
तराईका विभिन्न जिल्लामा शीतलहरको कारण स्याँठ चल्दा घर बाहिर निस्किने सर्वसाधारणको सङ्ख्या थोरै मात्र देखिएको छ । चिसो बढेसँगै ज्येष्ठ नागरिक, बालबालिकाहरू बढी प्रभावित भएका छन् । मौसम फिल्ड कार्यालय सिमराका सहायक मौसमविद् लक्ष्मण कँडेलले मधेसमा हुस्सु र कुहिरो लागेसँगै बारा, पर्साको तापक्रम घटिरहेको जनाए ।
वीरगन्ज महानगरले वीरगन्ज आसपासमा जाडो बढेसँगै नारायणी अस्पताल, नयाँबसपार्क चोक, घण्टाघर चोक माईस्थान चोक, मुरली चोकलगायत स्थानमा दाउरा उपलब्ध गराएर आगो ताप्ने व्यवस्था मिलाएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले चिसोबाट जनतालाई जोगाउन विभिन्न स्थानमा दाउरा वितरण गरिरहेको जानकारी दिए । प्रजिअ अर्यालले आर्थिक अवस्था कमजोर भएका परिवारलाई सिरक तथा न्यानो लत्ताकपडा वितरण भइरहेको पनि जनाए ।
हुस्सु र कुहिरोले आन्तरिक उडान प्रभावित
प्रतिकूल मौसमका कारण आइतबार मुलुकको आन्तरिक हवाई उडान प्रभावित भएको थियो । मौसममा आएको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाको भनाइ छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान भइरहे पनि काठमाडौं बाहिरका अधिकांश विमानस्थलमा आइतबार बिहान हवाई उडान हुनसकेका थिएनन् ।
शीतलहरले जनजीवन प्रभावित भएपछि जाडो बढेसँगै लाग्ने हुस्सु र कुहिरोले चिसो बढ्ने भएकाले स्वास्थ्यमा विशेष सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक रुपमै अपिलसमेत गरेको छ । ‘जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाबाट दिनहुँ मौसमी प्रणालीहरुलाई हामीले अनुगमन (मोनिटरिङ) पनि गरिरहेका हुन्छौं । साथै ती सूचनाहरुलाई सबै सर्वसाधारणले लिने र मौसम पूर्वानुमानको जानकारी लिएर यात्रा गर्नका लागि अनुरोध गर्न चाहन्छौं,’ मौसमविद् पुडासैनीले भने ।
असिना र वर्षापछि दिल्लीमा पनि चिसो बढ्यो
यसैबीच आइतबार राति र सोमबार बिहान असिना र वर्षापछि दिल्लीमा चिसो बढेको छ । तर, केही दिनदेखि भारतको दिल्ली एनसीआरको ठुलो भाग धुवाँले घेरिएको हुनाले केही दिनपछि वायुको गुणस्तरमा सुधार आएको छ ।
दिल्लीका केही क्षेत्रमा, एक्यूआई स्तर १०० भन्दा तल झरेको छ । दुई दिन अघिसम्म ३७० भन्दा माथि थियो । भारतीय मौसम विज्ञान विभागका अनुसार सोमबार बिहान दिल्लीको न्यूनतम तापक्रम सामान्यभन्दा ३ डिग्री तल झरेको छ ।
उत्तर भारतमा विगत केही दिनदेखि शीतलहर चलिरहेको छ । पछिल्ला केही दिनदेखि कुहिरोका कारण हवाई तथा सडक यातायात प्रभावित भएको छ । दिल्ली र एनसीआरमा कुहिरोका कारण धेरै उडानहरू रद्द गरिएका छन् र रेलहरू ढिलो चलिरहेका छन् ।