
बलात्कार अभियोग लागेका झापाको बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी पुर्पक्षका लागि कारागार चलान भएका छन् । झापा जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीको इजलासले उनलाई सोमबार कारागार चलान गर्ने आदेश दिएको हो ।
अदालतको आदेशसँगै उनलाई कारागार लगिएको प्रहरीले जानकारी दिएको छ । उनको स्वास्थ्य अवस्था नाजुक रहेकाले अदालतले कारागारलाई उपचारको व्यवस्था मिलाउन पनि आदेश दिएको छ । यसअघि स्वास्थ्यको कारण देखाउँदै अनुसन्धानका क्रममा प्रहरी हिरासतमा नबसी शिवाकोटी बिर्तामोडमा रहेको बीएन्डसी अस्पतालमा बसेका थिए ।
१७ वर्षीया घरेलु कामदार बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा शिवाकोटी मंसिर २४ गते पक्राउ परेका थिए ।
कलेज पोसाकमा काँकडभिट्टा नाकाबाट भारतको पानीट्यांकी जाँदै गरेकी बालिकालाई आफन्त नेपाल संस्थाका प्रतिनिधिहरूले भेटेर प्रहरीको सहयोगमा उद्धार गरेका थिए । बालिकाले घटनाबारे बताएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको थियो ।
प्रहरीले शिवाकोटीलाई र बालिकाका परिवारलाई पनि प्रहरी कार्यालय बोलाएको थियो । बालिकाका आफन्त उपस्थित भएर जाहेरी दिएपछि शिवाकोटीलाई प्रहरीले त्यहीदिन (मंसिर २४ गते) हिरासतमा राखेको थियो।
आमा भारतमा बस्ने र बुबा नभएकी ती बालिकालाई शिवाकोटीले पढाइदिने भन्दै सानैदेखि घरेलु कामदारका रूपमा राखेका थिए । तत्कालीन अनारमनी गाविसको अध्यक्षसमेत रहेका शिवाकोटी एमालेबाट २०७४ मा बिर्तामोड नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।
शिवाकोटी मेयरमा निर्वाचित भएको एक महिना पनि नपुग्दै बालिकाको पालनपोषण गर्ने र पढ्ने व्यवस्था पनि मिलाइदिने सर्तमा घरमा राखेका थिए । बालिका उनकै घरमा बसेर काम गर्दै पढिरहेकी थिइन् । हाल उनी ल्याब टेक्निसियन पढिरहेकी थिइन्।
आफू कक्षा ८ मा पढ्दादेखि नै मेयर शिवाकोटीले पटक-पटक बलात्कार गरेको आरोप पीडितको छ । श्रीमती घरबाहिर गएको बेला आफूलाई बलात्कार गर्ने गरेको आरोप पीडित बालिकाको छ ।
शिवाकोटीले भने बालिकालाई छोरी मानेर सोहीअनुसार व्यवहार गरेको दाबी गर्दै अदालतमा बयान दिएका छन् ।