काठमाडौं, पुस २४ :

सहकारी ठगी आरोप लागेका सत्तारुढ कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोधपुछ गरेको छ । सीआईबीले प्रतिनिधिसभा सदस्यसमेत रहेका गुरुङसँग मंगलबार दोस्रोपटक बयान कागज गराएको हो ।

गुरुङसँग सीआईबीको लाजिम्पाटस्थित कार्यालयमा बोलाएर गुरुङसँग बयान कागज गराइएको सीआईबी प्रमुख एआईजी दीपक थापाको भनाइ छ । गुरुङ ललितपुरको मितेरी सहकारी ठगी प्रकरणमा मुछिएका छन् ।

सीआईबीसमक्ष गुरुङले सहकारीले घर पनि लगेको र परिवार पनि बिगारेको भन्दै सहकारी ठगीमा आफ्नो संलग्नता इन्कार गरेका छन् । एआईजी थापाले ठगीको अनुसन्धान जारी रहेको र अझै तथ्य प्रमाणहरू संकलनका क्रममा रहेको बताए ।

ललितपुरको मितेरी सहकारीमा श्रीमतीसँग मिलेर गुरुङले करोडौं रकम ठगी गरेको आरोप लागेको छ । उक्त सहकारीमा गुरुङले श्रीमती ज्योती गुरुङलाई २०५७ जेठ १२ मा सहायक स्तरको कर्मचारी बनाएका थिए । त्यसको २ महिनापछि साउन २५ मा ज्योति सहकारीको लेखापाल, २०७० वैशाख ४ मा वरिष्ठ लेखापाल र २०७५ वैशाख ४ मा महाप्रबन्धक बनेकी थिइन् ।