
सोलुखुम्बु सदरमुकाम सल्लेरीमा करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् । सल्लेरी च्याल्सा विद्युत् कम्पनीका वरिष्ठ प्राविधिक ४३ वर्षीय विष्णु राईको करेन्ट लागेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
शनिबार दिउँसो विद्युत् तार आसपासको रूखबिरुवा काँटछाँट गर्ने क्रममा थुलुङ दूधकोशी गाउँपालिका - ९ लोखिम ठेगाना भएका राईको करेन्ट लागेर घाइते भएपछि जिल्ला अस्पताल फाप्लुमा उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्रकुवेर खापुङले जानकारी दिनुभयो ।
उनि २०६६ साल फागुनदेखि उक्त कम्पनीमा कार्यरत रहेको खुलेको छ ।
घटनामा घाइते विद्युत् कम्पनीका प्राविधिक सहयोगी पदमा कार्यरत सोलुदूधकुण्ड नगरपालिका - ६ का ३० वर्षीय बुद्धि राजभण्डारी, कम्पनीमा ज्यालादारीका रुपमा कार्यरत सोही ठाउँका ३४ वर्षीया टसी शेर्पा र ५१ वर्षीय कुमार बस्नेतको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको कम्पनीका वित्तीय अधिकृत मेमकुमारी मास्केले जानकारी दिनुभयो ।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लुमा राखिएको र घाइतेहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौँ पठाउँने तयारी भइरहेको च्याल्सा विद्युत् कम्पनीको कार्यालय सल्लेरी सोलुखुम्बुले जनाएको छ ।