नवलपरासी, पुस २५ :

यातायात व्यवस्था सेवा कार्यालय पश्चिम नवलपरासीले चारपाङ्ग्रे सवारी साधनको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्न सुरुआत गरेको छ ।

जिल्लामा २०७८ साल फागुन १ गतेबाट सेवा कार्यालय स्थापना भएको थियो । कार्यालयले यस अगाडि मोटरसाइकल र स्कुटरको मात्र  चालक अनुमतिपत्र दिँदै आएको थियो ।

सेवा थप भएसँगै चारपाङ्ग्रे सवारी साधन  (कार, जिप, डेलिभरी भ्यान, टेम्पो, अटोरिक्सा,  ई- रिक्सा र ट्रयाक्टर) को अनुमतिपत्रका लागि अनलाइन आवेदन मागसमेत गरिएको कार्यालय प्रमुख श्यामलाल न्यौपानेले जानकारी दिनुभयो । 

कार्यालयबाट ब्लूबुक नवीकरण, जाँचपास, नवीकरण तथा रुट परमिट, लाइसेन्स नवीकरण एवं दुईपाङ्ग्रेका लाइसेन्स वितरणको काम हुँदै आएको छ ।

यसैबीच सवारी साधन ग्रेडिङ गरी अनुमतिपत्र दिने नीति लागू भएपछि दुर्घटनामा पनि कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अमृत भण्डारीले बताए ।

पछिल्लो समय दुर्घटना व्यवस्थापनका लागि सवारीचालकले अनिवार्य अनुमतिपत्र लिएर मात्र सवारी साधन चलाउने नियममा कडाइ गर्न थालिएको  छ ।