काठमाडौं, पुस २५ :

नेपालमा तेस्रोपटक कुकुर नस्ल सुधार र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम गुणस्तरीय कुकुर उत्पादन गर्ने उद्देश्यले केनेल क्लब अफ नेपालले बाइरो च्याम्पियनसीप ‘डग शो’आयोजना गर्ने भएको छ ।

क्लबका सचिव विवेश श्रेष्ठका अनुसार आगामी माघ ५ गते ललितपुरको जाउलाखेल फुटबल ग्राउन्डमा शोको हुनेछ । यो पहलले उच्च गुणस्तरका कुकुरहरूको उत्पादन, नस्ल सुधार र कुकुरपालकहरूको प्रोत्साहनमा महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

श्रेष्ठका अनुसार यसपटकको च्याम्पियनसिप शोमा पहिलो र दोस्रो शोको तुलनामा सहभागी कुकुरहरूको संख्या बढ्ने अनुमान गरिएको छ । अघिल्लो दुई शोमा ३५ जातका कुकुरले प्रतिस्पर्धा गरेका थिए, जसमा १५३ उच्च गुणस्तरका कुकुरहरूले भाग लिएका थिए ।

यसपटकको प्रतियोगितामा हस्की, जर्मन सेफर्ड, गोल्डेन रिट्रिबर, पग, ल्याब्रोडर, डालमेसियन, सेन्ट बनोर्ड, इंग्लिस ककर स्पानियल, नियपोलिटन मास्टिफ, डोबर्मन, बिगल, पोमेरिनियनजस्ता थुप्रै प्रजातिका कुकुरले सहभागी हुने आयोजकले जनाएको छ । सहभागिताका लागि कुकुरका लागि अनिवार्य रूपमा भ्याक्सिन लगाइएको हुनुपर्नेछ । साथै, कुकुरको स्वास्थ्य अवस्था दक्ष पशु चिकित्सकद्वारा परीक्षण गरिनेछ । आयोजकका अनुसार तीन महिनाभन्दा माथिका उमेरका कुकुरहरूलाई मात्र शोमा सहभागी गराइनेछ । यसमा एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त जज सञ्जय गुरुङ रहेका छन् ।

सहभागी कुकुरहरूले पहिले आफ्नो जातभित्र प्रतिस्पर्धा गर्ने र जसमा उत्कृष्ट ठहरिएका कुकुरहरूले अर्को चरणमा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् । त्यसपछि अन्तर्राष्ट्रिय मान्यता प्राप्त जजहरूको टोलीले उत्कृष्ट कुकुरको छनोट गर्ने क्लबका सचिव श्रेष्ठले जानकारी दिए ।

शोले कुकुरहरूको पुर्खा, रोग प्रतिरोध क्षमता र उत्पादन क्षमताको रेकर्ड राख्ने उद्देश्यले ब्रिड क्लबको स्थापना गरेको छ । यसले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि कुकुर नस्ल सुधार र पशु व्यवस्थापनको क्षेत्रमा ठूलो योगदान र्पुयाउने अपेक्षा गरिएको छ ।

विश्वव्यापी रूपमा कुकुर च्याम्पियनसिप शोको परम्परा सन् १७७३ बाट सुरु भएको मानिन्छ । नेपालमा यस प्रकारका शोहरूको निरन्तर आयोजना हुनु देशको कुकुर नस्ल सुधारमा मात्र नभई पशुपालन व्यवसायलाई प्रोत्साहित गर्न पनि महत्त्वपूर्ण मानिएको छ ।