झापा, साउन २८ :

झापाको अर्जुनधारा नगरपालिका- ४ स्थित देवान चोकबाट प्रहरीले भरुवा बन्दुक र चोरीको समानसहित तीन युवालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी शनिश्चरेले शनिबार राति अर्जुनधारा- ४ स्थित देवानचोकबाट सोही ठाउँका १९ वर्षीय आदित्य लिम्बू, २२ वर्षीय छिरिङ तामाङ र २१ वर्षीय निखिल तामाङलाई पक्राउ गरेको हो ।

चोरीमा संलग्नको खोजी गर्ने क्रममा उनीहरुलाई शङ्कास्पद अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

प्रहरीले उनीहरुको साथबाट चोरीको समान एक थान भरुवा बन्दुक, चाँदीको सिक्री तीन थान, नेपाल टेलिकमको ५० रुपैयाँ दरको रिचार्ज कार्ड १९ थान,  चाँदीको औँठी दुई थान, चाँदीको पाउजु दुई थान र एनसेल कम्पनीको ५० रुपैयाँ दरको रिचार्ज कार्ड पाँच थान बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।