
कास्की, साउन २८ :
कास्कीको रुपा गाउँपालिकाले डढेलोबाट वन जोगाउन सफल सामुदायिक वन समूहलाई २० हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ ।
सामुदायिक वन दिवसका अवसरमा ठूलो वन समूहद्वारा निर्मित हरियाली पार्कमा आयोजित वृक्षरोपण कार्यक्रममा गाउँपालिका अध्यक्ष नवराज ओझाले वन जोगाउन सफल सामुदायिक वन समूहलाई नगदसहित पुरस्कृत गर्ने घोषणा गर्नुभएको हो ।
वन क्षेत्रमा आगो लगाउँदा जैविक विविधता, वनमा रहेका वनस्पति, जीवजन्तुसहित वातावरणीय असर पर्ने हुँदा त्यस्तो आपराधिक काम रोक्न पालिकाले चालु आर्थिक वर्षदेखि पुरस्कृत गर्ने अध्यक्ष ओझाले जानकारी दिनुभयो ।
दिवसका अवसरमा असोका, धुपी, तेजपात, अमलालगायत विभिन्न प्रजातिका ४० वटा बिरुवा रोपिएका छन् ।