
कञ्चनपुर, पुस २५ :
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका- १ स्थित सुक्खा बन्दरगाह निर्माणको बाटो खुलेको छ ।
आज बन्दरगाह निर्माणस्थलमा भएका रूख कटानका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल इन्टरमोडल यातायात विकास समितिबीच सम्झौता भएपछि बन्दरगाह निर्माणको बाटो खुलेको हो ।
एकीकृत जाँचचौकी निर्माणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको राष्ट्रिय वनक्षेत्रको ४२ दशमलव ३६ हेक्टर जग्गा प्रयोग गर्न र उक्त जग्गामा रहेका विभिन्न प्रजातिका एक हजार सात सय दुई वटा रूख र खम्बा हटाउन स्वीकृतिका लागि विभाग र समितिबीच सम्झौता भएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।