
फोटो : खोटाङ बुइपा टाेल
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका- १४ बुइपास्थित चारवटा टोलका स्थानीयले आयातित पेयपदार्थ सेवनमा प्रतिबन्ध लगाएका छन् ।
आयातित पेयपदार्थले आर्थिक, परम्परागत संस्कृति र स्वास्थ्यमा समेत प्रतिकूल असर पुर्याएको भन्दै गैरी फुलेली, कुसुङ्खा, उर्लेनी र छापगाउँका स्थानीयवासीले बिहे, छेवर, गुन्युचोली, पास्नी, काजकिरिया तथा विभिन्न चाडपर्व र मेलापातमा यसअघि सेवन गरिँदै आइएको आयातित पेयपदार्थ सेवनमा पूर्ण रूपले प्रतिबन्ध लगाएका हुन् ।
बाहिरी जिल्लाबाट आयातित पेयपदार्थ सेवनले आर्थिक, सांस्कृति तथा मानव स्वास्थ्यमा समेत प्रतिकूल असर गरेकाले पूर्ण रूपमा प्रतिबन्ध लगाइएको सामाजिक अभियन्ता अरुण राईले जानकारी दिए ।
एउटा घरमा हुने कार्जेमा आयातित पेयपदार्थ प्रयोग गरेपछि अर्को घरले पनि प्रयोग गर्नैपर्ने बाध्यता सिर्जना भएको थियो । यसलाई रोक्न प्रतिबन्ध लगाइएको उनले बताए ।
गैरी फुलेलीमा गत असोज २९ गते स्थानीय सुशीला राईको विवाहदेखि आयातित पेयपदार्थ सेवनमा पूर्ण रूपले प्रतिबन्ध लगाइएको स्थानीयवासीले बताएका छन् ।
२८ परिवार रहेको गैरी फुलेलीमा स्थानीय फुलेली सेवा समाजको पहलमा गत असोज १६ गते भएको भेलाको निर्णयले गाउँमा हुने काजभोज तथा मेलापातमा आयातित पेयपदार्थ सेवनमा पूर्ण प्रतिबन्ध लगाएको हो ।
कुसुङ्खाका स्थानीयवासीले भने गत वर्षदेखि नै पेयपदार्थ आयात तथा सेवनमा प्रतिबन्ध लगाएका थिए ।