
पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले माध्यमिक तह (कक्षा ९- १०) को इतिहास र वातावरण विज्ञान विषयको पाठ्यक्रम थप समसामयिक र विद्यार्थीमुखी बनाउन पाठ्यक्रम विकास केन्द्रलाई १५ दिनभित्र स्वीकृतिका लागि सिफारिस गर्न निर्देशन दिएको छ ।
परिषद्का अध्यक्ष तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको अध्यक्षतामा बुधबार बसेको बैठकले कक्षा ९ र १० को दुई विषयका पाठ्यक्रमका विषयवस्तुलाई दैनिक जीवनसँग जोडी स्थानीय विषयसँग मिलाउन र विद्यार्थीको दृष्टिकोणबाट पाठ्यक्रम निर्माण गर्ने लगायत सुझाव समेट्नुपर्ने निष्कर्ष निकाल्दै यस्तो निर्देशन दिएको हो ।
बैठकमा सहभागी शिक्षा क्षेत्रका विज्ञहरूले युवाहरूलाई देशप्रति सकारात्मक भावना विकास गराउने र नेपालको सभ्यताको इतिहासबारे थप प्रष्ट हुने गरी पाठ्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।
यस्तै, बैठकले मातृभाषातर्फ आधारभूत तह (कक्षा ६- ८) को चाम्लिङ भाषाको पाठ्यक्रम स्वीकृतिका लागि समेत सिफारिस गरेको छ ।
बैठकले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ मा रहेका ऐच्छिक विषयको समूह मिलान गर्दै माध्यमिक तह (कक्षा ९- १०) मा हाल कार्यान्वयनमा रहेको ऐच्छिक पहिलो समूहमा रहेका २७ भाषामध्ये नेपालमा बोलिने भाषाको छुट्टै समूह बनाउने निर्णय गरेको छ । तीन समूहमध्ये कुनै दुई समूहबाट एक- एकवटा विषय छनोट गर्न पाउने व्यवस्था गरिएको छ ।
बैठकले उच्च माध्यमिक तह (कक्षा ११- १२) मा ऐच्छिक तेस्रो समूहमा रहेका १४ भाषामध्ये नेपालमा बोलिने भाषाहरूको छुट्टै समूह बनाउने र पाँच समूहमध्येबाट विद्यार्थीले कुनै तीन विषय लिन पाउने व्यवस्था गर्ने निर्णय गरेको छ ।
बैठकको निर्णयअनुसार कक्षा ११- १२ को ऐच्छिक दोस्रो समूहमा रहेको जनसङ्ख्या अध्ययनलाई ऐच्छिक तेस्रो समूहमा र तेस्रो समूहमा रहेको ‘जेरोन्टोलोजी’ र ‘केयर ट्रेकिङ’ शिक्षा विषयलाई दोस्रो समूहमा राखिएको छ ।
अब विद्यार्थीले आफ्नो इच्छा अनुसार पाँचवटा समूहमध्ये कुनै तीन ऐच्छिक विषय रोज्न पाउने छन् । विद्यार्थीको मूल्याङ्कनमा घरायसी तथा दैनिक जीवनमा गरेका कार्य पनि समावेश गरिने भएको छ ।