काठमाडौं, पुस २६ :

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल एयरलाइन्सलाई सुधार गरेरै छोड्ने प्रतिबद्धता जनाएका छन् ।

सिंहदरबारमा बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले अब नेपाल एयरलाइन्सलाई नसुधारीकन विश्राम नलिने बताए । नेपाल एयरलाइन्सलाई सुधार गर्न समिति, सांसद, सरकार सबैले संकल्प लिन जरुरी रहेको उनको भनाइ छ । ‘हामी अब नेपाल एयरलाइन्सलाई नसुधारीकन विश्राम लिन्नौं । यो बैठक अन्तिम बैठक होइन कि यो बैठकबाट हामी अघि बढेर नेपाल एयरलाइन्सलाई सुधारेरै छोड्छौँ भन्ने संकल्प समितिले पनि गर्नुपर्छ, मन्त्रालयले पनि गर्छ । जसरी चलिरेहका छौँ, त्यही ठीक छ भन्ने ढंगले हुँदैन, केही न केही समस्या छ, त्यसको पहिचान गरेर सुधार गर्नुपर्छ,’ बैठकमा मन्त्री पाण्डेले भने ।

उनले समस्या पहिचान गरेर सुधार गर्नु अपरिहार्य रहेको बताए । उनले क्यान र नेपाल एयरलाइन्सबीचको सम्बन्ध सुधार गर्नुपर्ने आवश्यकता औंल्याए । मन्त्री पाण्डेले नेपाल वायुसेवा निगम र नेपाल एयरलाइन्स सेवाप्रदायक संस्था भएकाले एक-अर्कामा समन्वय र सहकार्य हुन जरुरी रहेको भन्दै सहकार्य हार्दिकताविना प्रतिफल नमिल्ने धारणा राखे ।

‘क्यान र नेपाल एयरलाइन्सबीचको सम्बन्ध पनि कसरी हो हामीले सुधार गर्नुपर्नेछ । क्यान नियमनकारी संस्था हो, यो सेवा प्रदायक संस्था हो । तर क्यान सेवा प्रदायक संस्था पनि हो । सेवा प्रदायक संस्था पनि भएको कारणले सेवा दिने दुई संस्थाको बीचमा सहकार्य र हार्दिकता नहुने हो भने काम गर्न निकै अफ्ठ्यारो पर्छ,’ उनले भने, ‘आगामी दिनमा थप छलफल, परिणाममुखी छलफल र प्रतिफलमुखी छलफल गरेर हामी जान्छौं ।’

मन्त्री पाण्डेले नागरिक उड्डयन क्षेत्रको स्कोप कहिल्यै नघट्ने दाबी गरे । वायुसेवा निगमले सेवा दिन सके यात्रुको कमी नहुने मन्त्री पाण्डेको भनाइ छ । विमानस्थल बढेसँगै एयरक्राफ्टको संख्या पनि बढे वायुसेवालाई निकै सुदृढ गर्न सकिने विश्वास व्यक्त गरे । नेपालका कतिपय पहाडी क्षेत्रमा (कर्णाली, कोसी र गण्डकी) मा ठुला जहाजहरु उड्ने विमानस्थल बनाउन जरुरी रहेको पनि मन्त्री पाण्डेले बताए ।