काठमाडौँ, पुस २७ :

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा बिहीबार धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने भएका छन् ।

लामिछाने विरूद्ध काठमाडौँमा पनि सहकारी सम्बन्धी अर्को मुद्दा रहेकाले आज उनी आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

अदालतबाट छुटेपछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको थियो । अदालतको आदेशानुसार रू ६५ लाख धरौटी बुझाएर उनी कास्की प्रहरीको हिरासतबाट रिहा भएका थिए । 

उनीसँगै उक्त मुद्दाका छ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका हुन् । लामिछाने,  छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ र आरती गुरुङले धरौटी रकम बुझाएर रिहा भएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । 

न्यायाधीश नीतिज राईको इजलासले बिहीबार सभापति लामिछानेलाई ६५ लाख, छविलाल जोशीलाई ८८ लाख, लीला पछाईँलाई ३७ लाख, मीना गुरूङलाई  पाँच लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरुङलाई पाँच लाख र कृष्णबहादुर गुरुङलाई  एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

प्रतिवादी लीला पछाईँले भने धरौटी रकम बुझाउन नसकेपछि हिरासतमै रहेको अदालतले जनाएको छ ।

अदालतमा दश दिनसम्म भएको थुनछेक बहसपछि प्रतिवादीहरूलाई धरौटीमा रिहा गर्न आदेश आएको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारीको रकम अपचलनको आरोपमा लामिछाने सहित ४४ जना विरूद्ध मुद्दा दायर गरेको थियो । 

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ । धरौटीमा रिहा भएका प्रतिवादीहरूको मुद्दामा थप अनुसन्धान हुने स्रेस्तेदार खनालले बताए ।