जलेश्‍वर, पुस २७ :

विगत पाँच दिनदेखि अविरल रुपमा चिसो स्याँठ चल्नुका साथै शीतवर्षा हुन थालेपछी महोत्तरीसहित सम्पूर्ण तराई मधेस कठ्याङ्ग्रिएको छ ।

चौबीस घण्टा शीतको थोपाको वर्षा र लगातारको पश्चिमी चिसो वायुले तराईका जिल्लामा अहिले दैनिक रुपमा जाडो बढेको बढ्यै भएपछि जनजीवन निक्कै प्रभावित भएको जलेश्‍वर नगरपालिका- ९ बस्ने कामेन्द्र कापरले बताए । 

निरन्तरको चिसो कठ्याङ्ग्रिँदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण वातावरण बिग्रेर मानिस, चौपाया पशुपन्छी तथा बालीनाली प्रभावित बन्न थालेको जलेश्वर-  ७ का किसान वीरेन्द्र शर्माले बताए । 

चिसोकै कारण अहिले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरसहित जिल्लाको सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ भने जिल्लावासी बाक्लो कुहिरोको कारण यातायातका साधन चढ्न छोडेका छन् । 

यता जिल्लाको विभिन्न बजारमा बाक्लो ऊनी कपडाको बिक्रीमा बढोत्तरी भएको छ भने चिसोकै कारण जिल्लाको हाट बजारहरुमा मानिसहरुको उपस्थिति न्यून भएको छ ।

चिसोकै कारण जिल्लाको स्वास्थ्य केन्द्रहरु लगायत जिल्ला अस्पतालमा विभिन्न किसिमका बिरामीको सङ्ख्यामा वृद्धि भएको चिकित्सक बताउँछन् ।

लगातार बढ्दै गएको चिसोका कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलामा रुखा, खोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्ने लगायतका समस्या देखिएको स्वास्थ्यकर्मी चिकित्सक वीरेन्द्र चौधरीले बताए ।