सिरहा, पुस २७ :

सिरहाको माडरस्थित प्रमुख भन्सार कार्यालयमा ‘प्लान्ट क्वारेन्टाइन’ नहुँदा भन्सारको राजस्व असुलीमा असर पुगेको छ । 

नेपाल- भारत दुई देशबीच मुख्यगरी तरकारी, खाद्यान्न र फलफूल आयत निर्यातमा समस्या खेप्दै आएको सिरहाका प्रमुख भन्सार अधिकृत तोयानाथ सापकोटाले बताए ।

“यहाँ मासिक एक करोडभन्दा बढी राजस्व सङ्कलन हुदै आएको छ, तर प्लान्ट क्वारेन्टाइन सेवा नहुँदा भारतमा हुने कृषि उत्पादन यो नाका हुँदै पैठारी गर्न र नेपालमा उत्पादित कृषिजन्य उपज भारत निकासी गर्न कठिनाइ हुँदै आएको छ”, उनले भने, “व्यवसायी र कृषकले समस्या भोग्नुपरेको छ, चोरी निकासी र पैठारी नियन्त्रण हुन सकिरहेको छैन ।”

क्वारेन्टाइन कार्यालय नहुँदा एकातिर व्यापारी विस्तारै निरुत्साही हुँदै गएका छन् भने अर्कातिर भन्सार अगाडिको सडकखण्डमा घण्टौँसम्म नेपाल भित्रिने मालबाहक सवारी साधन लाम लाग्ने गरेका छन् । 

प्रमुख भन्सार अधिकृत सापकोटाका अनुसार नेपाल प्रवेश गर्ने मालबाहक सवारी साधनको क्वारेन्टाइन प्रक्रियाकै लागि घण्टौँ लाग्ने हुँदा सडकमै सवारी साधन पार्किङ गर्नुपर्ने समस्याले आवागमन समेत प्रभावित हुने गरेको छ । 

वार्षिक १२ करोडभन्दा बढी राजस्व उठाउने भन्सार कार्यालयमा विषादी चेक गर्ने सामान्य प्राविधिक कर्मचारीको अभावमा प्लान्ट क्वारेन्टाइन सेवा नहुनु दुः खद् भएको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले बताए ।