
लगानीकर्ताका लागि यो साता सेयर बजार सुखद देखिएको छ । विगतका साताहरुमा लगातार ओरालो लागेको नेप्से परिसूचक यो साता सुरुवाती कारोबार दिनदेखि नै उकालो लागेको थियो ।
नेप्सेको यो उकालो यात्राले साताको चौथो कारोबार दिनसम्म निरन्तरता पाएको थियो । अन्तिम कारोबार दिन भने नेप्से परिसूचक ओरालो लागेको थियो । सेयर बजारको यही उकालो र ओरालो यात्राबीच यो साता नेप्से परिसूचक २६ सय ३५ दशमलव शून्य ९ अंकमा पुग्न सफल भएको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सातामा चार सय ४८ दशमलव ५४ अंकमा पुग्न सफल भएको छ ।
यो साता तीन सय २७ कम्पनीको तीन लाख ४८ हजार सात सय ६२ पटक सेयर किनबेच भएको छ । जसबाट ६ करोड ८१ लाख ५५ हजार सात सय २१ कित्ता सेयर खरिद-बिक्री भएपश्चात साप्ताहिक कारोबार रकम ३० अर्ब २६ करोड ३६ लाख ४१ हजार चार सय ९० रुपैयाँ पुग्न सफल भएको छ ।
यो कारोबार रकम गत साताको भन्दा ११ अर्ब रुपैयाँले बढी हो । गत साता धितोपत्र बजारमा १९ अर्ब २५ करोड दुई लाख ८२ हजार पाँच सय ६९ रुपैयाँको मात्र सेयर किनबेच भएको थियो । तीन सय १५ कम्पनीको दुई लाख ३० हजार आठ सय ७३ पटकको कारोबारमा चार करोड ३७ लाख ९४ हजार तीन सय ३२ कित्ता सेयर खरिद-बिक्री गत साता उक्त परिमाणमा रकम कारोबार भएको थियो ।
दैनिक सेयर कारोबारको तुलनात्मक अध्ययन गर्दा यो साता पहिलो दिन बजार परिसूचक नेप्से पाँच दशमलव ३२ अंकले बढेर २५ सय ९१ दशमलव ५६ अंकमा कायम रहँदा सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव ६७ अंकले घटेर चार सय ४२ दशमलव ८९ अंकमा खुम्चिन पुगेको थियो ।
दोस्रो दिन पनि नेप्से परिसूचक ४९ दशमलव १२ अंकले बढेर २६ सय ४० दशमलव ६८ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि ६ दशमलव ६९ अंकले बढेर चार सय ४९ दशमलव ५९ अंकमा पुगेको थियो ।
यसैगरी तेस्रो दिन पनि नेप्से परिसूचक ६ दशमलव १६ अंकले बढेर २६ सय ४६ दशमलव ८४ अंकमा पुगेकामा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ८९ अंकले बढेर चार सय ५० दशमलव ४८ अंकमा पुगेको थियो । चौथो दिन नेप्से परिसूचक ६ दशमलव ३८ अंकले बढेर २६ सय ५३ दशमलव २३ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स एक दशमलव शून्य दुई अंकले बढेर चार सय ५१ दशमलव ५१ अंकमा पुगेको थियो ।
पाँचौं दिन भने नेप्से परिसूचक १८ दशमलव १४ अंकले घटेर २६ सय ३५ दशमलव शून्य नौ अंकमा खुम्चिएकामा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ९७ अंकले घटेर चार सय ४८ दशमलव ५४ खुम्चिएको थियो ।
यो साता जानकी फाइनान्स, नेपाल फाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैंकलगायत कम्पनीहरुको बढी रकम कारोबार हुँदा जानकी फाइनान्स, प्रभु बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि छन् ।