बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश गण्डकी प्रदेश

शीतलहरबाट प्रभावितलाई न्यानो कपडा बाँडियो, ठाउँठाउँमा आगो ताप्ने व्यवस्था

अहिलेसम्म ५० घरपरिवारका दुई सय जनालाई पुग्ने गरी न्यानो कपडा बाँडिएको छ ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २७ पुस, २०८१ मा प्रकाशित
शीतलहरबाट प्रभावितलाई न्यानो कपडा बाँडियो, ठाउँठाउँमा आगो ताप्ने व्यवस्था
पूर्वी नवलपरासीमा शीतलहर बढेपछि सामूहिक आगो ताप्दै सुरक्षाकर्मी र सर्वसाधारण । तस्बिर : सक्रिय न्युज संवाददाता
पूर्वी नवलपरासी, पुस २७ :

तराईका जिल्लाहरुमा शीतलहरले जनजीवन प्रभावित बनाएको छ । बाक्लो हुस्सुसँगै शीतलहरका कारण स्कुल, कलेज जाने विद्यार्थीदेखि बालबालिका तथा ज्येष्ठ नागरिकहरुले सास्ती भोग्नुपरेको छ ।

पूर्वी नवलपरासीमा शीतलहरबाट प्रभावितलाई न्यानो कपडा वितरणदेखि सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले शीतलहरबाट प्रभावितहरुलाई न्यानो कपडा बाँडेको हो । समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार जिल्लाको चार नगरपालिका र चार गाउँपालिकाको ३७ स्थानमा न्यानो कपडा वितरण नजिकको प्रहरी कार्यालयमार्फत गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी, जिल्ला उद्योग वाणिज्य महासंघ गैंडाकोटको सहयोगमा शीतलहरबाट प्रभावितहरुलाई ब्लाङ्केट र कम्बलसहित न्यानो कपडा प्रभावित क्षेत्रमा पठाएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । 

अहिलेसम्म ५० घरपरिवारका दुई सय जनालाई पुग्ने गरी न्यानो कपडा बाँडिएको छ । योसँगै शीतलहरबाट बच्न जनचेतनामूलक सूचना प्रकाशन गर्ने, सडक तथा विभिन्न स्थानमा हिँडडुल गरी बस्ने व्यक्तिलाई न्यानोका लागि वन कार्यालयको सहयोगमा आगो ताप्ने व्यवस्था गर्ने गरिएको पोखरेलको भनाइ छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालयले जनप्रतिनिधिहरु तथा सामुदायिक वनसँगको समन्वयमा आगो ताप्ने व्यवस्था मिलाएको छ । कावासोती, मध्यविन्दु, देवचुली, गैंडाकोट नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाका विभिन्न २४ स्थानमा आगो ताप्ने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी (प्रहरी नायब उपरीक्षक) जेसी शाहले जनाए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार