काठमाडौं, पुस २७ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केपी ओली नेतृत्वको सरकारको आयु धेरै दिन नभएको बताएका छन् ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा शुक्रबार भएको विपक्षी दलहरुको बैठकबाट बाहिरिने क्रममा अध्यक्ष दाहालले ओली नेतृत्वको सरकार अप्राकृतिक भएकोे हुँदा लामो समय नटिक्ने दाबी गरेका हुन् । उनले बैठकमा समाजवादी मोर्चालाई कसरी अगाडि लैजाने भन्ने विषयमा मुख्य गरी छलफल भएको बताए । समाजवादी मोर्चाको बैठक माघ २ गते बस्ने भएको छ । समाजवादी मोर्चा लामो समयदेखि निष्क्रिय रहँदै आएको थियो ।

यस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि प्रधानमन्त्री केपी ओलीको कार्यशैलीको आलोचना गर्दै उनी सत्ता नछाड्ने दाउमा रहेको बताए । अध्यक्ष नेपालले भने, 'ओलीजी २०८७ सालमा संविधान संशोधन गर्ने कुरा गर्दैं हुनुहुन्छ त्यत्तिञ्जेल सत्ता नछाड्ने दाउ हो कि ?’

त्यस्तै  राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि एमाले अध्यक्ष ओलीले संविधान संशोधन गर्न नचाहेको बताए ।

छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ सहभागी थिए ।