काठमाडौं, पुस २७ :

काठमाडौं महानगरपालिकाका मेयर बालेन( बालेन्द्र ) साहले नयाँ प्रमुख प्रशासकीय अधिकृत माग गर्दै  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेका छन् ।

हाल महानगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतका सम्बन्धमा छानविन भइरहेको हुँदा उनको सट्टामा कामकाजका लागि प्रमुख प्रशासकीय अधिकृत खटाई पठाई दिनुहुन भन्दै मेयर साहले शुक्रबार अनुरोधसहितको पत्र लेखेका हुन्। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ दफा ८४ बमोजिमकाे भन्दै मेयर साहले पत्रमा उल्लेख गरेका छन्। 

पुरानो बसपार्कस्थित काठमाडौं टावरको नक्सा प्रक्रिया नपुर्‍याई पास गरेको भन्दै महानगरले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन गरिरहँदा गोविन्दप्रसाद शर्मालाई निमित्तकाे जिम्मेवारी दिइएकाे थियाे ।निमित्त प्रमुखको जिम्मेवारी पाएका शर्माले पनि राजीनामा दिएपछि अहिले काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बन्न पुगेको छ।