काठमाडौँ, पुस २८ :

आज पुष २७ गते । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

वि. सं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो ।

वि. सं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा बिस्तार गर्न उनी सफल  भएका थिए । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई बिस्तार गरेको इतिहास छ ।

पृथ्वीनारायण शाहले वि. सं १८०१ मा नुवाकोट विजय गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरे । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए । 

सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गर्नुभएका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०३ औँ जन्मजयन्ती मनाइँदैछ । 

यस अवसरमा सिंहदरबारको पश्चिम मूल ढोका अघि रहेको शाहको सालिक परिसरमा विशेष कार्यक्रम गरिने जनाइएको छ । प्रत्येक वर्ष पुस २७ गते यहाँ विशेष कार्यक्रम आयोजना गरिन्छ ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव लगायत राज्यका उच्च पदस्थ व्यक्तित्वले शुभकामना सन्देश दिएका छन् ।

उनको वि. सं १८३१ मा ५२ वर्षको उमेरमा निधन भएको थियो ।