बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार अर्थतन्त्र

माघे सङ्क्रान्तिमा टोखामा ‘चाकु दिवस’ मनाइने, चाकु स्तम्भ निर्माण गरिदै

· शनिबार, २८ पुस, २०८१ मा प्रकाशित
माघे सङ्क्रान्तिमा टोखामा ‘चाकु दिवस’ मनाइने, चाकु स्तम्भ निर्माण गरिदै
काठमाडौँ, पुस २८ :

टोखामा माघे सङ्क्रान्ति पर्वका अवसरमा ‘चाकु दिवस’ मनाइने भएको छ ।

नेपाः युवा क्लब टोखाको आयोजना तथा टोखा परम्परागत चाकु संरक्षण समाजको सहकार्यमा माघे सङ्क्रान्ति पर्वको अवसरमा आगामी माघ १ गते टोखा बजारमा ‘चाकु दिवस’ मनाउन लागिएको हो ।

टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण श्रेष्ठले टोखा भित्र उत्पादित चाकु र यसबाट बनेको परिकारलाई चाकु दिवसको अवसरमा प्रदर्शनमा राखिने जानकारी दिए । टोखामा माघे सङ्क्रान्ति पर्वको अवसरमा ‘चाकु दिवस तथा बृहत् सांस्कृतिक तथा सम्मान कार्यक्रम हुनेछ ।

अध्यक्ष श्रेष्ठले टोखाभित्र उत्पादित सामग्रीसमेतलाई चाकु दिवसमा प्रदर्शन गरिने बताए । टोखा उखु खेती हुने पुरानो बजार हो । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नेवारी भाषामा ‘टु’ र ‘ख्य’ शब्दबाट बनेको हो । नेवारी भाषामा ‘टु’ को अर्थ उखु र ‘ख्य’ को अर्थ खेती भन्ने गरिन्छ । 

उखुखेती हुने टोखामा लिच्छवीकलाको पाँच सय १९ देखि चाकु बनाउन थालिएको किंवदन्ती छ । टोखामा हाल चाकुका १४ उद्योग रहेका छन् ।

टोखा नगरपालिकाले टोखा क्षेत्रको पहिचानलाई कायम गर्नका लागि टोखा बजारमा उखु खेतीको कार्यक्रमलाई समेत अगाडि बढाउन लागेको छ ।

यस्तै टोखाको पहिचानको रुपमा रहेको चाकु स्तम्भसमेत टोखामा निर्माण गर्न लागिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार