काठमाडौँ , पुस २८ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रुपमा मनाउँदैछ ।

दिवसका अवसरमा आज राप्रपाले काठमाडौँको भृकुटी मण्डपमा चियापान समारोह आयोजना गरेको छ ।   

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई भव्य बनाउन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले हिजो दिनभर विभिन्न दलका शीर्ष नेताहरूसँग भेटघाट गरेका थिए ।

राप्रपाले चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विभिन्न राजनीतिक दलका अध्यक्ष तथा नेताहरू, पूर्व प्रधानमन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विभिन्न पेशागत सङ्घसंस्थाका प्रमुख, कलाकार, खेलाडीलगायत सामाजिक जीवनका विभिन्न व्यक्तिलाई निमन्त्रणा पठाएको छ।

आम निर्वाचनपछि राप्रपासमेत सहभागी पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको सरकारले पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा निर्णय गरेको थियो।

राप्रपाले २०६३ देखि हरेक वर्ष पृथ्वी जयन्तीको अवसरमा चियापान कार्यक्रम गर्दै आइरहेको छ।