काठमाडाैं, पुस २८ :

थारू समुदायले यही पुस २९ गते र माघ १ गते काठमाडौँको टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउने भएको छ ।यस वर्ष ‘थारू संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान’ भन्ने नारासहति माघी पर्व मनाउन लागिएको हो ।

माघी महोत्सवको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक एवं थारू कल्याणकारिणीसभाका नवनिर्वाचित अध्यक्ष प्रेमिलाल चौधरीले बताए ।उनका अनुसार पुस २९ गते टुँडिखेलमा रक्तदान कार्यक्रम र साँझमा जिता मार्ने कार्यक्रम राखिएको छ ।

माघ १ गते बिहान १० बजे थारू संस्कृति, वेशभूषा, बाजागाजा, सङ्घ संस्थाको तुल ब्यानरसहित न्यूरोड, वसन्तपुरमा जम्मा भई झाँकी र्‍याली प्रदर्शनसहित रत्नपार्क, शहीदगेट, सुन्धारा परिक्रमा गरी टुँडिखेल पुग्ने कार्यक्रम रहेको छ ।माघी महोत्सवमा थारू खानपिन÷परिकार, प्रदर्शनी एवं बिक्री, थारू सीप हस्तकला, पुस्तक प्रदर्शनीलगायतका करिब सयभन्दा बढी स्टल रहने छन्।