काठमाडाैं, पुस २८ :

प्रधानमन्त्री केपी ओलीले सूचना प्रविधि (आईटी) लाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्नेमा विश्वास व्यक्त गरेका छन् ।     

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालमा आईटीको क्षेत्रमा काम गर्नेहरुका लागि केही कानुनी अप्ठ्यारा रहेको उल्लेख गर्दै शुक्रबारको मन्त्रिपरिषद्को बैठकले अध्यादेशमार्फत सम्बोधन गरेको बताए ।

‘हिजोको मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत आईटीमा गरेको कमाइ स्वदेश भित्र्याउन सहज बनाउने कानुन राष्ट्रपतिज्यूसमक्ष सिफारिस गरिएको छ । यसले आईटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्ने हाम्रो विश्वास छ,’ उनले भने । 

प्रधानमन्त्री ओलीले अब नेपाली आईटी कम्पनीहरुले विदेशमा लगानी गर्न, विदेशमा शाखा कार्यालय खोलेर पैसा कमाउन र त्यसरी कमाएको पैसा कानुनी रुपमा भित्र्याउन पाउने भएको उनको भनाइ छ ।