काठमाडौं, पुस २८ :

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र सीआईआईबीचको संयुक्त बैठक सम्पन्न भएको छ ।

नेपाल-भारत वाणिज्य सचिवस्तरीय बैठकको लागि काठमाडौं आएको सीआईआई प्रतिनिधि मण्डलसँग महासंघले दुईपक्षीय बैठक गरेको हो ।

दुईपक्षीय वार्तामा नेपालका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र भारतीय प्रतिनिधि मण्डलको नेतृत्व संयक्त मञ्चका सहअध्यक्ष सेन्थीलकुमाले गरेका थिए ।

दुईपक्षीय वार्तामा व्यवसायीहरुले व्यावसायिक वातावरण बनाउन आवश्यक काम गर्ने समझदारी बनाउन सरकारहरुलाई दबाब दिने निर्णय गरेका छन् । नेपाली व्यवसायीहरुले भन्सार विन्दुमा हुने गैरभन्सार कर र गतिविधि, नेपाली गुणस्तर चिह्न प्राप्त वस्तु र  सेवाले भरतमा निर्वाध काम गर्न पाउने व्यवस्था गर्न भारतीय सरकारलाई सुझाव दिन सीआईआई प्रतिनिधि मण्डललाई आग्रह गरेको छन् ।

नेपालमा लगानीको वातावरण राम्रो रहेको सन्देश भारतीय उद्योगी व्यवसायीहरुलाई दिन पनि अनुरोध गरेका छन् । नेपालको प्रमुख सहर भैरहवा र पोखरालाई हवाई कनेक्टिभिटीमा जोड्न पहल गर्न आग्रह गरेको उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थीले जानकारी दिए ।

छलफलमा भारत निर्यात हुने नेपाली वस्तुको अवरोधलाई हटाउन भारतीय पक्षको सहयोगलाई विशेष रुपमा उठाइएको बताए । बैठकमा जलविद्युत् र नवीकरणीय ऊर्जा, पर्यटन र कनेक्टिभिटी,व्यापार र सीमापार लगानी, कृषि, सूचना प्रविधि र डिजिटल सहयोग आदानप्रदान,पूर्वाधार विकास, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन (फिटा) संशोधन,अटोमोबाइल, औषधि र रसायन उद्योग, ज्ञान साझेदारी र सीप विकासका क्षेत्रमा सहकार्यमा जोड दिइएको पनि बताए ।

बैठकमा नेपालका उद्योग र व्यापार क्षेत्रका अधिकांश मुद्दाहरु उठाएको बताए । उनले जलविद्युत्‌को उत्पादन १० हजार मेगावाट भारतमा निर्यात गर्ने, विस्फोटक पदार्थहरुको सहज उपलब्धताबारे पनि कुरा राखेको बताए ।

कृषिजन्य सामग्रीहरुमा भारतले लगाएको परिणामात्मक बन्देज नेपालका लागि हुन नहुने विषयमा पनि छलफल गरेको र छलफल सकारात्मक रहेको बताए ।

बैठकमा दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा नेपाल-भारत व्यापारमा देखिएका समस्या समाधानका लागि दुवै पक्षले पहल गर्ने सहमति भएको छ । नेपाल र भारतका प्रतिनिधिहरू सहभागी बैठकले द्विपक्षीय सम्बन्धले व्यापार, लगानी, ऊर्जा सहयोग, विकास साझेदारी र जनताबीचको आदान-प्रदानलगायत विभिन्न क्षेत्रलाई समेटेको बताइएको छ ।

नेपाल भारतका उद्योगी व्यवसायीहरुको छाता संगठनका रुपमा रहेका दुई संस्थाले नेपाल-भारत संयुक्त व्यवसायी मञ्च (जेबीएफ) बनाएर विभिन्न विषयहरुमा वार्ता गर्दै आएका छन् ।