काठमाडौँ, पुस २९ :

नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन सार्वजनिक सूचना मार्फत पुनः आग्रह गरेको छ ।

केन्द्रीय बैङ्कले यसअघि नै एकीकृत निर्देशनमार्फत बैङ्क तथा वित्तीय संस्थालाई निर्देश गरिसकेको थियो । 

राष्ट्रिय परिचयपत्रको सहज पहुँच सुनिश्चित गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले प्रत्येक जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ । 

यस्तै, काठमाडौँ  उपत्यकामा समेत जिल्ला प्रशासन कार्यालयका अतिरिक्त अस्थायी शिविर मार्फत परिचयपत्र प्रदान गरिँदै आएको सूचनामा उल्लेख छ । 

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको पोर्टल मार्फत राष्ट्रिय परिचयपत्र नम्बर तथा आवेदनको स्थिति बुझ्न सकिने व्यवस्था गरिएको छ ।

विभागको पोर्टलमार्फत राष्ट्रिय परिचयपत्र नम्बरको जानकारी लिएर बैङ्क खाता खोली ग्राहकलाई सहजीकरण गर्न सबै बैङ्क तथा वित्तीय संस्थालाई आवश्यक निर्देशन दिइसकिएको केन्द्रीय बैङ्कको सूचनामा उल्लेख छ ।