काठमाण्डौं, पुस २९ :

दक्षिण कोरियामा गत महिना दुर्घटनाग्रस्त भएको यात्रुवाहक विमानको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डरले दुर्घटना हुनुभन्दा चार मिनेटअघि रेकर्डिङ बन्द गरेको त्यहाँको यातायात मन्त्रालयले जनाएको छ ।

ब्ल्याक बक्सले रेकर्डिङ बन्द गर्नुको कारण के हो भनेर विश्लेषण गरिने मन्त्रालयले जनाएको छ । ती रेकर्डरको परीक्षण दक्षिण कोरियामा गरिएको जनाएको छ ।

डाटा हराएको पाईएपछि तिनीहरूलाई अमेरिका लगिएको र अमेरिकी सुरक्षा नियामकहरूले विश्लेषण गरेका छन् ।

गत डिसेम्बर २९ मा बैंककबाट उडेको उक्त विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो । धावनमार्गको  भित्तामा चिप्लिएर विमान दुर्घटना भएको हो ।

जेजु एयरको विमान दुर्घटना हुँदा १७९ जनाको मृत्यु भएको थियो । यो  कोरियाली भूमिमा भएको सबैभन्दा घातक हवाई दुर्घटना हो ।

दुर्घटनामा चालक दलका दुई सदस्य मात्र बाँचेका थिए ।

यातायात मन्त्रालयका पूर्व दुर्घटना अनुसन्धानकर्ता सिम जय–डोङले  अन्तिम मिनेटको डाटा हराउनु आश्चर्यजनक छ ।

अनुसन्धानकर्ताहरूले  रेकर्डरहरूमा रहेको डेटाले दुर्घटना हुनु भन्दा पहिलेका महत्त्वपूर्ण क्षणहरूको बारेमा अन्तर्दृष्टि प्रदान गर्ने आशा गरेका थिए । तर रेकर्ड नै नभएपछि धेरै प्रश्नहरू अनुत्तरित रहेको बताएका छन्।

विमान धावनमार्गमा ठोक्किँदा किन अवतरण गियर डाउन भएन भन्ने विषयमा पनि उनीहरुले ध्यान केन्द्रित गरेका छन् ।