
चुत्रो प्रशोधन गरी आयुर्वेदिक औषधि बनाउन चुत्रो प्रशोधन उद्योग सञ्चालनमा ल्याइएको छ ।
चिनियाँ लगानीकर्ताको झण्डै आठ करोडको लगानीमा कुश्मा नगरपालिका- ५ स्थित जलकेनीमा रहेको कालीण्डकी नदी किनारमा ‘एसडिएसडी’ उद्योग सञ्चालन गरिएको हो ।
दैनिक २० टन जडीबुटी प्रशोधन क्षमता रहेको प्रशोधन केन्द्र गत सातादेखि सञ्चालनमा आएको छ । चीनको छिफु वायोटेक्नोलोजी प्रालिले चुत्रो प्रशोधन केन्द्र स्थापना गरेको कम्पनीका प्रतिनिधि दीपेन्द्रबहादुर भण्डारीले जानकारी दिए।
पर्वतलगायत आसपासका जिल्लामा प्रशस्त मात्रामा पाइने गैरकाष्ठ वन पैदावार अन्तर्गत पर्ने चुत्रो सङ्कलन गरेर प्रशोधन गरिने भएको छ । चुत्रो पर्वत, म्याग्दी, बागलुङ, कास्की, लमजुङ, स्याङ्जा लगायत जिल्लामा प्रशस्त पाइन्छ ।
चुत्रोको जरा, हाँगा र डाँठलाई प्रशोधन गरी आयुर्वेदिक औषधिको कच्चा पदार्थ तयार गरिने भएको हो । यहाँ उत्पादित धुलो चीन पठाएर औषधिजन्य पदार्थमा मिश्रण गरी ‘पेनकिलर’, ‘सुगर’ रोग लगायतका औषधि बनाइने बताइएको छ ।
चुत्रोको कच्चा पदार्थलाई खनेको र काटेको एक हप्ताभित्र नसुक्दै हरियो अवस्थामै उद्योगसम्म ल्याउनु पर्दछ । यसका लागि कम्पनीले प्रतिकिलो २० का दरले मूल्य निर्धारण गरी किसानसँग चुत्रोको कच्चा पदार्थ र प्रतिकेजी आठका दरले गुर्जो गानो खरिद गर्ने जनाएको छ ।
प्रशोधन गरिने चुत्रोको माटोभन्दा माथि हुने काठको गोलाई साढे दुई इन्चभन्दा माथि जति पनि ल्याउन सकिने उद्योगले जनाएको छ ।