
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सुरु भएकाे छ । काठमाडौँ जिल्ला अदालतका ६ नम्बर बरीयताका न्यायाधीश अधिकारीको इजलासमा लामिछानेको बयान र थुनछेक बहस सुरु भएको हो ।
अदालतमा स्वयं उपस्थित भएका लामिछानेको हकमा काठमाडौं जिल्ला अदालतले कस्तो निर्णय दिन्छ भन्नेमा धेरैले चासो राखेका छन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि उनी आज (आइतबार) आफैँ अदालतमा हाजिर भएका हुन्।
कास्कीबाट हिरासतमुक्त भए पनि लामिछानेलाई अरू जिल्ला अदालतहरूले हिरासतमा राख्न आदेश दिन सक्ने कानुनका जानकारहरूको अडकल छ । स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलनमा लामिछानेलाई पनि विपक्षी बनाएर गत आइतवार अभियोजनपत्र दर्ता भएको थियो ।
स्वर्णलक्ष्मीबाट कानुन विपरीत ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको प्रहरी अनुसन्धानले देखाएपछि सरकारी वकिल कार्यालयले रविलाई सोही रकम बिगो मागदाबी गरेर मुद्दा दायर गरेको हो ।
रवि लामिछानेका वकिल सुशील पन्तका अनुसार आज नै उनको बयान र वकिलहरूको बहस सक्ने तयारी छ । अदालतले आज नै उनलाई थुनामा राखेर मुद्दा टुङ्गो लगाउने वा बाहिर रहेर मुद्दा लड्न दिनेमध्ये एक निर्णय लिने लामिछानेका कानुन व्यवसायीहरूको अपेक्षा छ ।
यसैबीच, लामिछानेलाई धरौटीमा रिहा गर्ने कास्की जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदनमा जाने सरकारी वकिलको कार्यालयले तयारी गरेको छ ।