काठमाडौं, पुस २९ :

अधिक तरलता नियन्त्रणमा नआएको भन्दै नेपाल राष्ट्र बैंकले आज (आइतबार) बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । कर्जाको माग खासै नभएको र बैंकिङ प्रणालीमा अधिक तरलता बढेसँगै राष्ट्र बैंकले आज मौद्रिक उपकरण बिक्री गरेर उक्त परिमाणमा रकम खिच्न लागेको हो । 

राष्ट्र बैंकका अनुसार आज अपराह्न २ बजेसम्ममा बोलकबोलको माध्यमद्वारा उक्त परिमाणमा रकम तानिनेछ । परिपक्व हुुने अवधि २१ दिन तोकिएको यो उपकरणको सावाँ-ब्याज भुक्तानी मिति माघ २० गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले खरिद गर्न सक्ने गरी यो निक्षेप उपकरण बिक्री गर्न लागिएको हो । 

खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्नेछन् । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाइनान्स कम्पनीहरुमा धितोका रुपमा समेत राख्ने सकिने राष्ट्र बैंकले जनाएको छ ।