
जिल्ला प्रहरी कार्यालय मकवानपुरले अफिम, चरेस र गाजा सहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले उनीहरु सवार दुई वटा भारतीय कार समेत नियन्त्रणमा लिएको जनाएको छ ।
गएराति करिब २ बजे आसपासमा थाहा नगरपालिका- ११ टिस्टुङ नौखनडेस्थित त्रिभुवनराजपथमा इलाका प्रहरी कार्यालयले भारतीय नम्बर प्लेट डिएल ८ सिएक्स १२२४ को कार जाँचका क्रममा २१ केजी चार सय ६० ग्राम चरेस, तीन केजी चार सय ७० ग्राम अफिमसहित कारमा सवार भारतीय हरियाणा राज्री जिल्ला हिसार गोविन्दनगर बस्ने २५ वर्षीय कुनाल गोथ्वाल र सोही ठाउँका २० वर्षीय मनिस कुमारलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।
त्यस्तै, आज बिहान हेटौँडा उपमहानगरपालिका- १५ रातोमाटे चेकपोस्टमा चितवनबाट वीरगञ्ज जाँदै गरेको भारतीय नम्बर प्लेट डिएल १३ सी १५६१ को कार जाँच गर्दा एक सय एक केजी गाजासहित पर्सा वीरगञ्ज महानगरपालिका- २६ अठराह सुगौलीका २० वर्षीय राजन राउत कुर्मीलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।
पक्राउ परेकाहरूको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।