काठमाडौं, पुस २९ :

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई प्रतिसेयर ३० रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । 

सत्रौँ वार्षिक साधारणसभाले आव ०८०/८१ को मुनाफा रकम मध्येबाट प्रतिसेयर ३० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव आइतबार सर्वसम्मत पारित गरेको हो ।

सत्रौँ वार्षिक साधारणसभामा करिब ९१.६२ प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने सेयरधनीहरुको उपस्थिति थियो । उक्त सभाले आर्थिक वर्ष ०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरुमाथि छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।

यसैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिसबमोजिम आ.व. ०८१/८२ का लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउन्टेन्टद्वय नरेन्द्र भट्टराई र प्रकाशजंग थापालाई लेखापरीक्षक नियुक्त र पारिश्रमिक तोकेको छ ।

साधारणसभामा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले साधारणसभामा उपस्थित सेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको सत्रौँ वार्षिक प्रतिवेदन पेस गरेकी थिइन् ।

प्रतिवेदन प्रस्तुत गर्दै उनले यस क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धी वातावरणमा मुनाफाभन्दा बढी सेवाभावलाई उच्च प्राथमिकतामा राखी भौगोलिक रुपले अति विकट तथा दुर्गम क्षेत्रमा सेवा विस्तार गर्ने जनाइन् । यस्तै उनले डिजिटल नेपाल बनाउने सरकारको अवधारणामा सहयोग गर्ने, विद्युतीय सुशासनको क्षेत्रमा थप सहयोगी भूमिका निर्वाह गर्ने तथा अप्टिकल फाइबरका माध्यमबाट सूचना महामार्ग निर्माण गरी डिजिटल डिभाइड कम गर्ने तयारी रहेको जानकारी दिइन् ।

उनले समीक्षा अवधिमा कम्पनीको २ करोड ३० लाखभन्दा बढी सन्तुुष्ट ग्राहक पुगेको पनि जनाइन् । ‘आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताबीच कम्पनीले ४२ अर्ब ११ करोड आम्दानी गरी ६ अर्ब २३ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ,’ उनले भनिन्, ‘समीक्षा अवधिमा कम्पनीले कर तथा शुल्कबापत आफ्नो कुल आयमध्ये ४१ अर्ब ५९ करोड राजस्वका रुपमा सरकारलाई बुझाइ राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याएको छ ।’ 

देशको विषम् भौगोलिक अवस्था र सापेक्षित रुपमा अन्य पूर्वाधारहरुको पहुँच विस्तार हुन नसकेको अवस्थामा कम्पनीले समीक्षा अवधिको अन्त्यसम्ममा सातै प्रदेशका ७७ जिल्लाका कुल ७४३ स्थानीय तहमा अत्याधुनिक दूरसञ्चार फोरजी-एलटीई सेवाको पहुँच विस्तार भइ ७७ वटै जिल्लामा उच्च गतिको इन्टरनेट सेवा समेत विस्तार भएको जानकारी दिइन् ।