
काठमाडौँ, माघ १ :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको थुनछेक बहस आज हुने भएको छ ।
काठमाडौँ जिल्ला अदालतमा हिजो (आइतबार) लामिछानेको बयान सकिए पनि थुनछेक बहस नभएकाले आजका लागि सारिएको हो ।
थुनछेक बहस नभएपछि लामिछानेलाई न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रहरीको न्यायिक हिरासतमा पठाउन आदेश दिएको थियो ।
उनलाई हिजो भद्रकालीस्थित प्रहरी परिसरको हिरासतमा राखिएको छ । थुनछेक बहसको अन्तिम आदेश नआएसम्म लामिछाने न्यायिक हिरासतमा रहने छन् ।
उनलाई काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम ठगी गरेको अभियोगमा मुद्दा परेको छ ।
त्यस्तै, लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारी, रुपन्देहीको सुप्रिम सहकारी, चितवनको साहारा चितवन र पर्साको सानो पाइला सहकारीमा पनि ठगी आरोपमा मुद्दा दर्ता भएको छ ।