कैलाली, माघ १ :

पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायको माघी पर्वको चहलपहल आजदेखि कैलाली, कञ्चनपुरलगायत थारू बस्तीमा सुरू भएको छ । 

विशेषगरी पुस महिनाको अन्तिम दिनदेखि सुरु भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने माघी पर्वमा पुसलाई बिदाइ गरी माघ १ गते अर्थात् नयाँ वर्षलाई स्वागत गर्दै थारू गाउँ बस्तीमा यो पर्व सुरु भएको थारू अगुवा प्रभातकुमार चौधरीले जानकारी दिए ।

थारू जातिको संस्कृतिअनुसार नाचगान गरी रातभर जाग्राम बस्ने, भगवान्का नाममा ध्वनि जगाएर (धमार) भजनर्कीतन गर्ने, आगो ताप्ने, गञ्जी, तरूल जस्ता विभिन्न परिकार बनाएर खाने चलनसमेत रहेको उनले बताए ।

माघे सङक्रान्तिका दिन विशेष गरी थारू समुदायमा बिहानै उठेर नजिकैको नदी तलाउमा गई नुवाइधुवाइ गर्ने र नुहाउने बेला नदीमा डुबुल्की लगाएर सिक्का पैसा छोड्ने गरिन्छ । त्यसपछि नुहाइसकेपछि धमार गाउँदै घरमा आएपछि घरका महिलाले छुट्याइएको चामल र मासको दाललाई छुने र ती छोएका चिज घरका छोरीबेटीलाई छुट्याउने प्रचलन ।

त्यसपछि घरमा भएका पूर्खा तथा आफूभन्दा ठूलाबडाबाट आर्शीवाद लिने परम्परा रही आएको छ । तेस्रो दिन अर्थात् माघ २ गते चामल र मासको दालको खिचडी खाने, नजिकैका बजारमा जाने परम्परा पनि रहेको उनले बताए ।

थारू समुदाय बसोबास गर्ने गाउँ, बस्ती अहिले माघीमय भएका छन् । यति मात्र नभएर थारू जातिको परम्परा, लोक संस्कृति झल्कने मघौटा नाच, लोक गीतसँगै डफ र मादलको आवाज पनि गाउँघरमा गुन्जिन थालेको छ ।