
मनोकांक्षा पूरा गर्ने कामनाले उपत्यकाको पूर्वीभेगमा एक महिने कठोर माधवनारायण व्रत सुरू भएको छ ।
शालीनदीमा बिहानैदेखि व्रतालु एवं भक्तजनको घुइँचो लागेको छ । स्वस्थानी व्रत र साँखु शालिनदी मेला आजदेखि सुरु भएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ ।
मेलामा महिला, पुरूष र सात जना पूजारी गरी दुई सयभन्दा बढी व्रतालु सहभागी हुने गरी तयारी भएको शङ्खरापुर नगरापलिकाका प्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए । व्रतालुको यकिन सङ्ख्या आज अपरान्हसम्म थाहा हुने जनाइएको छ ।
“चार दिनसम्म व्रतालु थपघट हुन सक्छन्, व्रतालुले बिहान ५ बजे स्नान, त्यसपछि गणेशपूजा, मध्याह्नमा नित्य महादेव र पार्वती पूजा, बेलुकी साल्खाटोलदेखि ज्योतिर्लिङ्गेश्वरलगायत साँखु बजार सहस्रधारासहित परिक्रमाको कार्यक्रम हुन्छ,” उनले भने ।
व्रतालुले आज माधवनारायणका मूल पुजारीसँग बेलुकी जल लिएपछि जुत्ता चप्पल छुन नहुने र नून खान नहुने व्रतविधि रहेको छ ।
भगवान् विष्णुको स्वरूप श्री माधवनारायणको प्रतिमालाई साक्षी राखी यो व्रत प्रत्येक वर्ष पौष शुकल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्दै आएको छ ।
