
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा नै बहस भइरहेको छ। हिजाे समय अभावका कारण बहस हुन नसकेपछि न्यायाधीश अधिकारीको इजलासले लामिछानेलाई न्यायिक हिरासतमा पठाउन आदेश दिएको थियो । काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम संगठित तवरले ठगी गरेको अभियोगमा रविसहितका अभियुक्तहरूविरुद्ध मुद्दा चलिरहेको छ।
रविका पक्षबाट भने पूर्वमहान्यायाधिवक्ताद्वय सुशील पन्त र रमनकुमार श्रेष्ठले बहस गर्दै छन् भने रविका विरुद्धमा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले, जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालसहित ११ जनाले बहस गर्ने भएका छन्।उनीहरूका लागि न्यायाधीश अधिकारीले सवा १ घण्टाकाे समय तोकिदिएका छन्।
यस प्रकरणका दुई अभियुक्त यसअघि नै धरौटीमा छुटिसकेका छन् भने मुख्य अभियुक्तमध्येका जीबी राई फरार छन् ।पोखराको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख धरौटी बुझाएर बिहीबार छुटेका रवि आइतबार काठमाडौँ अदालतमा आफै उपस्थित भएर बयान दिएका थिए ।