
झापामा परम्परागत (रैथाने) हात्तीको सङ्ख्या वृद्धि हुँदै गएको छ । पछिल्लो पाँच वर्षयता जिल्लामा परम्परागत हात्तीको सङ्ख्या झण्डै तेब्बर भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिनुभयो ।
२०७५ सालमा १०-१२ को सङ्ख्यामा हात्ती रहेकोमा हाल उक्त सङ्ख्या ३० भन्दा धेरै रहेको उहाँले बताउनुभयो।
भारतबाट खानाको खोजीमा नेपाल प्रवेश गर्ने हात्ती यतै बस्न थालेपछि परम्परागत हात्तीको सङ्ख्या बढ्दै गएको उहाँको भनाई छ । पहिला निश्चित क्षेत्रमा मात्र देखिने गरेका हात्ती अहिले जिल्लाभर देखिन थालेका छन् ।
जिल्लामा धान, मकैलगायत बालीको जोन-सुपरजोन घोषणा भएपछि हात्तीबाट जनधनको क्षति बढ्दै गएको पनि उहाँले बताउनुभयो ।
हात्तीले प्रयोग गर्ने जैविकमार्गमा पुल, सडकलगायत संरचना निर्माण भएपछि हात्तीले बाटो परिवर्तन गर्दा जनधनको बढी क्षति हुने गरेको कार्यालय प्रमुख राईले बताउनुभयो ।
मानव-हात्ती द्वन्द्व नियन्त्रणका लागि विशेष गुरुयोजना बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
हात्ती समस्या कम गर्नका लागि प्रकृति संरक्षण कोषसँग पहल गरिरहेको उहाँले बताउनुभयो । हात्ती समस्या कम गर्नका लागि प्रदेशभरिको योजना निर्माण भइरहेको सुनाउँदै हात्ती प्रभावित क्षेत्रको पहिचान गरी स्थानीयवासीको सामूहिक बिमा, बाली बिमा, भौतिक संरचनाको बिमा गर्न सकिए मानिस ढुक्क भएर बाँच्ने वातावरण हुने उहाँको भनाई छ ।