काठमाडौं, माघ १ :

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार दल फुटाउने र मिलाउने काममा नलाग्ने बताएका छन् । दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झूठो प्रचार गरिएको भन्दै प्रधानमन्त्री ओलीले देश विकास र जनताका सेवालाई ध्यानमा राखेर सरकारले अध्यादेश ल्याएको प्रष्ट पारे ।

नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीसँग सोमबार बिहान बालुवाटारमा ओलीले भने, 'लुकाएर र छलछाम गरेर काम गर्ने मेरो बानी छैन । देशका हितमा खुलेआम काम गर्ने हो ।'

मध्यराति सरकारले अध्यादेश ल्याएको भन्नेबारे उल्टो प्रश्न गर्दै ओलीले भने, 'के राम्रो काम राति गर्न हुन्न भन्ने छ र ? त्यसो भए के बिहान साइत पारेर भ्रष्टाचार गरेरमा चाहिँ त्यो राम्रो हुन्छ ? प्रधानमन्त्री ओलीको प्रश्न थियो । झुटो प्रचार गर्ने परिपाटीबाट पत्रकारहरु बच्नुपर्नेमा ओलीले जोडदिए ।