साउन २९ :

काभ्रेका विभिन्न स्थानबाट विद्युतीय ट्रान्सफर्मर चोरी गरि बिक्री गर्ने १० जना पक्राउ परेका छन् । सङ्गठित गिरोहले नै जिल्लाका विभिन्न स्थानमा जडान गरिएका ६ वटा ट्रान्सफर्मर निकाली त्यसभित्र रहेको तामाको तार चोरी बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा काभ्रेका ४५ वर्षीय विष्णुबहादुर सार्की, दोलखाका २२ वर्षीय प्रल्हाद बस्नेत, २७ वर्षीय सुनिल बस्नेत, ३० वर्षीय दिकुल खत्री, २१ वर्षीय प्रविन बस्नेत र २४ वर्षीय जगन्नाथ बस्नेत, सिन्धुपाल्चोकका २२ वर्षीय सन्तोष विक, ४२ वर्षीय राजेश विक, २८ वर्षीय कुमार विक र २४ वर्षीय प्रेम मिजार रहेको प्रहरीले जनाएको छ । 

प्रहरीले चोरीमा संलग्न बा१ज ८७३४ नम्बरको मिनीभ्यान समेत नियन्त्रणमा लिएको छ । विभिन्न मितिमा समातिएका उनीहरूलाई जिल्ला अदालतमार्फत म्याद थपी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

चोरी गरिएका तामाका तार भक्तपुरका विभिन्न कवाडी पसलमा बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको उहाँले बताउनुभयो ।