
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका विभिन्न ५ मध्ये ४ अध्यादेश जारी गरेका छन्।मन्त्रिपरिषद्ले ५ वटा अध्यादेश सिफारिस गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेलले ४ वटा मात्र जारी गरेको राष्ट्रपति कार्यालय, शीतलनिवासले जनाएको छ ।
राष्ट्रपति पौडेलले सोमबार जारी गरेका ४ अध्यादेशमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८१ रहेका छन् ।
यस्तै निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ पनि जारी गरिएकाे राष्ट्रपतिकाे कार्यालयले जनाएको छ ।
राष्ट्रपतिले पौडेलले 'भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’लाई भने रोकेका छन् । उक्त अध्यादेश अध्ययनकै क्रममा भएकाले जारी नभएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
सार्वजनिक जग्गामा बसेका देशभरका भूमिहीन जनतालाई कुनै स्थानको जग्गा लालपुर्जा सहित उपलब्ध गराउने व्यवस्था यो अध्यादेशमा भएकाले राष्ट्रपतिले त्यसलाई जारी गर्न हतार नगरको जानकाहरुको अनुमान छ ।
संवेदनशील मानिएको भूमि सम्बन्धी यो विषय संसद्बाटै टुंगियोस् भन्ने राष्ट्रपतिको आकांक्षा रहेको बुझिन्छ ।शुक्रबार बसेको मन्त्रिपरिषद्ले ती अध्यादेश सिफारिस गरेको थियाे ।